चितवन। भरतपुर अस्पतालमा नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष सञ्चालन गरिएको छ। दुई वर्षअघि सुरु गरिएको भवन निर्माणको काम सम्पन्न भएपछि नयाँ कक्षबाट सेवा सुरु गरिएको हो।
काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्षले बिरामीको चापलाई धान्न नसकेपछि नयाँ इमर्जेन्सी भवन निर्माण सुरु गरिएको थियो।
६ करोड ५० लाख रुपैयाँको निर्माण लागत एक तले भवन निर्माण गरिएको छ। पुरानो इमर्जेन्सी कक्षमा १२ वटा शय्याबाट सेवा दिँदै आएकोमा नयाँ निर्माण भएको भवनमा ५० शय्यामध्ये जनशक्ति अभावमा सुरुवातमा २० वटा शय्याबाट सेवा दिएको भन्दै एक साताभित्रमा सबै शय्या सञ्चालन हुने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
भरतपुर केन्द्रीय अस्पतालमा आकस्मिक कक्ष साँघुरो र थोरै शय्याका कारण बिरामीले राम्रोसँग सेवा पाउन सकेका थिएनन्। अहिले निर्माण भएको नयाँ भवन फराकिलो र पर्याप्त शय्या भएकाले अब सहज तरिकाले सेवा दिन सकिने अस्पतालले जनाएको छ।