बर्दिया। जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको करिब १० धुर सार्वजनिक जग्गामा गैरकानुनी रूपमा दुईतले पक्की भवन निर्माण गरिएको छ। नगरपालिकाको अनुमतिबिनै हनुमान मन्दिर समितिले भवन निर्माण गरेको हो।
भवनमा ८ कोठा तयार हुन थालेपछि नगरपालिकाले रोक लगाएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार भूकम्पकीय मापदण्डविपरीत र स्वीकृतबिना भवन निर्माण गरेपछि निर्माण कार्य रोकेको हो।
उक्त भवन निर्माण स्थानीय गौरव अग्रवालले गरेका हुन् । भवन निर्माण भएको जग्गाको पुर्जासमेत नभएको र प्राविधिकको स्वीकृतबिनै भवन बनाइएको हो । अग्रवालले अहिलेसम्म करिब ४० लाख रुपैयाँ भवन निर्माणमा खर्च गरिसकेका छन् ।
भुइँतलामा सटर राखेर पसल भाडामा दिने र माथिल्लो तलाका कोठामा व्यक्तिलाई आजीवन निःशुल्क बस्ने व्यवस्था गरिएको छ। मन्दिर समिति उपाध्यक्ष जगन्नाथप्रसाद कसौधनले नगरपालिकाले भवन निर्माण गर्न अनुमति नदिएको बताए।