काठमाडौं। सडक डिभिजन कार्यालय नेपालगञ्जले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने भएको छ। बर्दिया जिल्लाको बबइ नदीमाथि निर्माण गरिएको पुलको रेट्रोफिटिङ कार्यमा वेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगञ्जले ठेक्का तोडेर कालोसूचीमा राख्न प्रक्रिया अघि बढाउने सूचना जारी गरेको हो।
बबइ नदीमा आरसीसी पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सन र सडक डिभिजनबीच २०६७ असार २२ गते सम्झौता भएको थियो। २०७४ साउन २८ गतेको वर्षाले उक्त पुलमा क्षती पुर्याएपछि ड्यामेज रेट्रोफिटिङका लागि पटक पटक पत्राचार गर्दा पनि निर्माण कम्पनीले वेवास्ता गरेको सडक डिभिजनले जनाएको छ।
उक्त पुल निर्माणमा विशेष अदालत काठमाडौंबाट भस्ट्राचार भएको समेत ठहर भएको र पुलमा क्षति पुगेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएकोले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने र कार्य सम्पादन जमानत वापतको धरौटी रकम जफत गर्नुका साथै हालसम्म भुक्तानी भएको रकम समेत सरकारी बाँकि मानेर असुल गर्न प्रक्रिया अघि बढाउने सडक डिभिजनले सूचनामा उल्लेख गरेको छ। पप्पु कन्स्ट्रक्सन यसअघि पनि विभिन्न ठेक्कामा सम्झाैता बमाेजिम काम नगरेपछि कालाेसूचीमा परेकाे थियाे।

याे पनि:
पप्पु सहित पाँच वटा निर्माण कम्पनीको ठेक्का तोडियो (नामावली सहित)