रौतहट। रौतहट क्षेत्र नं. १ ‘क’ मा नेपाली कांग्रेसका तर्फबाट निर्माण व्यवसायी नगेन्द्र साह चुनावमा लड्दै छन्। ‘साह निर्माण सेवा’का प्रबन्ध निर्देशक साह प्रदेशसभा सदस्याका लागि निर्वाचन लड्दै छन्।
‘विकासका वादा, स्पष्ट ईरादा’ नामक नाराका साथ साह चुनावी प्रचारमा लागिसकेका छन्। निर्माण व्यवसाय सञ्चालन गरिरहेका साह राजनीतिमा समेत सक्रिय थिए। उनले ‘वादा नहीं विकास होगा, कल नहीं आज होगा’ भन्दै हिन्दीमा चुनावी प्रचार गरिरहेका छन्।
निर्माण व्यवसायमा लाग्ने धेरै व्यवसायीहरु राजनीतिमा सक्रिय हुँदै आएका छन्। देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निर्माण व्यवसायी राजनीतितर्फ आकर्षित हुनु स्वभाविक पनि हो। यसअघि गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि देशभरका विभिन्न स्थानीय तहबाट निर्माण व्यवसायी उठेका थिए भने त्यसमध्ये केहीले निर्वाचन जितेर स्थानीय तह हाँकिरहेका छन्।
त्यसैगरी निर्माण व्यवसायी संसद हुँदै केही मन्त्रीसम्म पनि बनेका छन्। यस पटकको निर्वाचनमा पनि देशका विभिन्न स्थानबाट निर्माण व्यवसायीले विभिन्न पार्टीबाट उमेदवारी दिएका छन्। राजनीतिको क्षेत्र निर्माण व्यवसायीको सक्रियता बढ्दै गएको देखिन्छ।