काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ।
सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्।
उनले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे। उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे।
सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहीतामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गरे । त्यस्तै उनले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने बताए। उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आवद्धता देखाउन नहुने पनि उल्लेख गरे ।
सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहीतामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए। उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहीता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीलाई अफ्ट्याराे परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गरे।
उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे। जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरिय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडी बढाउनुपर्ने बताए।