काठमाडौं। नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्ने भएको छ । भारत भ्रमणमा रहेको नेपाली पत्रकारको टोलीसँग भारतको विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले नेपालमा बढी हुने सबै विद्युत भारतले खरिद गर्ने बताएका हुन्।
उनले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको विकास, नेपाल र भारतबीच भइरहेको सहकार्यको समेत चर्चा गरेका छन् । उनले भारतमा पछिल्लो समय ऊर्जाको माग अत्यधिक वृद्धि भएको र यस्तो वृद्धि अझै केही वर्ष कायम रहने भएकोले नेपालसहित दक्षिण एसियाली देशमा उत्पादन भएको अधिक विद्युत् भारतले खरिद गर्ने बताए ।
विदेश सचिव क्वात्राले नेपाल भारत सम्बन्ध जनस्तरसम्म कायम भएकोले दुवै देशका नागरिकको हितलाई उच्च प्राथमिकता दिइने बताएका छन् । उनले दुई देशका सरकारबीच पनि कुनै समस्या नरहेको भन्दै सदियौँदेखि कायम नेपाल–भारत सम्बन्ध सुदृढ राख्न दुवै देश तयार रहने गरेको र भविष्यमा पनि रहनु पर्ने बताए।