चितवन। चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्माण व्यवसायी विक्रम पाण्डे प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन्। अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेर हारेका पाण्डे यस पटक पनि निर्वाचन लड्ने भएका हुन्।
उनी कालिका कन्स्ट्रक्सनका संचालक हुन्। उनले चितवन क्षेत्र नम्बर ३ का बाँकी अधुरा विकास निर्माणका काम पूरा गर्न आफूले निर्वाचन जित्नु पर्ने बताएका छन्।
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डे अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष प्रचण्डसँग ९ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।
उनी २०७० सालमा तत्कालीन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस पटक पाण्डेले माओवादीबाट डा.भोजराज अधिकारी, एमालेबाट रामप्रसाद न्यौपानेलगायतका नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन्।
सत्ता गठबन्धनले चितवन–३ लाई प्रचण्डका लागि भन्दै सिट दिए पनि माओवादी केन्द्रबाट डा.भोजराज अधिकारीलाई उमेदवार बनाएपछि कांग्रेसको अस्तित्व जोगाउन भन्दै कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद् तथा कांग्रेसबाट निलम्बित नेता जगन्नाथ पौडेलले भने स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन्।
अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन जितेका थिए। यस निर्वाचनमा भने उनले चितवन छोडेर गोरखा क्षेत्र नम्बर २ बाट उमेदवारी दिएका छन्।