गोखरा । गोरखामा ‘थ्री स्टार’ होटल निर्माण भएको छ । जिल्लामा ५० करोड लगानीमा ‘होटल गोरखा गार्डेन’ निर्माण भएको हो।
भरतपुर गार्डेनको शृंखलाको रूपमा गोरखा गार्डेन होटल निर्माण गरिएको गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलले बताए। यस होटलमा भरतपुर गार्डेन रिसोर्टको ६० प्रतिशत र गोरखा र चितवनका अन्य केही व्यवसायीको गरी ४० प्रतिशत लगानी भएको बताइएको छ ।
गोरखनाथ, गोरखकाली, मनकामनाको तीर्थ गर्न, गोरखा दरबार, लिगलिगकोट दरबारलगायतका ऐतिहासिक स्थलको अवलोकन गर्न तथा मनास्लु क्षेत्रको पदयात्रा गर्न आउने पर्यटकलाई होटलले सेवा दिने अध्यक्ष पौडेलको भनाइ छ।
गोरखा गार्डेन होटलमा ४६ वटा कोठा रहेको र यहाँ १ सय २५ जनासम्म होटलले सहज रूपमा राख्न सक्ने बताइएको छ । दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स रुम र ३४ वटा डिलक्स रुम रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।