काठमाडौं। रु २० लाखको लागतमा काठमाडौ महानगरपालिका–१९ स्थित इन्द्रसभा सामुदायिक भवन पुनःनिर्माण कार्य सम्पन्न भएको छ। काठमाडौं निर्वाचन क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो भवन पुनःनिर्माण गरिएको हो।
हिजो आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले सो भवनको उद्घाटन गर्दै मुलुकको विकास र निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको महत्व रहेको बताएका छन्। उनले आफ्नो पार्टी कम्युनिष्ट विचारको मूलधार भएको बताउँदै जनताको सेवालाई केन्द्रमा राखेर विकास र समृद्धिका कार्यमा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले स्थानीय जनसमुदायको मागअनुसार निर्माणकार्यका लागि काठमाडौं क्षेत्र नं ८ का विभिन्न स्थानमा सम्पदा संरक्षण तथा विकासकार्यमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कार्य भइरहेको जानकारी दिएका छन्।