म्याग्दी। मङ्गला गाउँपालिका–२ लाम्पाटामा क्याम्पस भवन निर्माण गरिएको छ। गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा एक करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
दश कोठा र एक सभाहलसहितको तीन तले भवन निर्माण सम्पन्न भएपछि ५० लाख रुपैयाँको लागतमा थप चार कोठे भवन निर्माण सुरु गरिएको छ। उक्त भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले बताए।
प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको सिफारिसमा आर्थिक वर्ष २०७६।७७ मा विनियोजन भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ७० लाख र गाउँपालिकाको ३० लाख रुपैयाँमा सो भवन निर्माण गरिएको हो।
थप भवन निर्माणका लागि जग्गा खरिद गर्न ८७ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको थियो। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाका अनुसार ५६ लाखमा लाम्पाटामा ३३ रोपनी आठ आना जग्गा खरिद गरी क्याम्पस भवन निर्माण गरिएको हो। विसं २०६६ मा स्थापना भएको क्याम्पस बाबियाचौरस्थित मङ्गला माविको भवनबाट सञ्चालन हुँदै आएको छ। नयाँ भवनबाट क्याम्पस सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक समितिका अध्यक्षले बताए।
शिक्षा शास्त्र सङ्कायअन्तर्गत स्नातक तहको पठनपाठन हुने उक्त क्याम्पसमा हाल १२४ विद्यार्थी अध्ययनरत छन्। समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा तीन पूर्णकालिन, नौ आंशिक प्राध्यापक र तीन कर्मचारी कार्यरत छन्। दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु भएको सो अभियानअन्तर्गत हालसम्म रु १२ लाख संकलन भएको छ।