काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६६०० किलोवाट क्षमताको साप्सुपखोला साना जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। विद्युत विकास विभागले सार्वजनिक शनिबार सूचना निकालेर प्रस्तावित साप्सुप खोला ९६/६ मेगावाटको ३३ केभी सिंगल सर्किट प्रसारणलाइन आयोजना संचालन गर्दा प्रतिकूल असर पर्ने भए प्रमाणसहित ३५ दिनभित्र पेश गर्न भनेको छ।
त्यस्तै विद्युत प्रसाणलाइनको अनुमतिका लागि थ्रीस्टार हाइड्रोपावर लिमिटेडले दरखास्त पेश गरेपछि आयोजनाले सार्वजनिक सूचना निकालेको हो। खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६६०० किलोवाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।
सो आयोजनाको हलेसी तुवाचुङ–११ मा हुने विद्युत गुहको स्वीचयार्डदेखि सोही वडा हुँदै जाने विद्युत प्राधिकरणको लहान जलजले बुइपा ३३ केभी प्रसारणलाइनको आरएस ४९/१९९५ पोलसँगै पुराना गाउँमा निर्माण भएको स्वीचिङ स्टेशनसम्म लुप इन–लुप आउटमार्फत ३३ केभी प्रसारणलाइन निर्माण हुने भएको छ।
यसको लम्बाइ करिब २/५ किलोमिटर हुनेछ भने हाल प्रसारणलाइनको विस्तृत सर्भे, डिजाइन भइसकेको छ। सो प्रसारणलाइनको भोल्टेज ३३,००० भोल्ट तथा प्रसारण क्षमता ६६०० किलोवाट हुनेछ। प्रसारणलाइन ६ महिनामा निर्माण सक्ने आयोजनाको लक्ष्य रहेको छ।