काठमाडौं। सिंहदरबारमा निर्माणाधीन अवस्थामा रहेको संघीय संसद भवनको काम हालसम्म ३४ प्रतिशत सम्पन्न भएको छ। एक सय ५१ रोपनीमा निर्माणाधीन संघीय संसद तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता अनुरुप २० महिना अघि देखि नै सुरु भएको हो।
विशेष भवन निर्माण आयोजनाका निर्देशक दीलिप शेखर श्रेष्ठका अनुसार कोभिड–१९ महामारीका कारण निर्माण कार्य अतिप्रभावित बनेको हो। यस पश्चात् सरकारले भवन निर्माण सम्पन्न गर्न छ महिना थप गर्यो।
श्रेष्ठका अनुसार निर्माणाधीन संघीय संसद भवनको लागत सात अर्ब अनुमान गरिएपनि निर्माण व्यवसायीले २५ प्रतिशत छुट गरी पाँच अर्ब तीन करोड लाग्ने बताएको छ। संसदको एक प्रतिनिधिसभामा तल चार सय र माथि तीन सय गरी सात सय जनासम्म अट्न सक्ने छन्। सभामुख, प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष रहने कार्यकक्षसहित भिभिआईपी भवन निर्माण हुँदैछ। जसमा प्रेससहित म्युजियम, पुस्तकालय र सुरक्षा गार्डको छुट्टाछुट्टै भवन पनी बन्दैछन्।
डबल बेसमेन्ट गरेर अन्डरग्राउण्ड पार्किङसहित तीन सय ५० वटा गाडी रहन सक्नेछन्। अन्तर्राष्ट्रिय स्तरको अडियो, भिडियोको अत्याधुनिक सिस्टम छ। संसद भवनको बाहिरी र भित्री भागमा नेपाली कलात्मक शैली झल्कनेछ। संसद भवन निर्माणको बाँकी रहेको १९ महिनाभित्रै काम सम्पन्न गर्न अनिवार्यरुपमा विगतकोभन्दा दोब्बर जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।