काठमाडौं। करिब ६७ करोड लगानीमा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी शिवभक्त पोखरेल होटल लगानीमा आकर्षित बनेका छन्। भैरहवामै गत वर्षदेखि संचालनमा आएको गौतम बुद्ध एयरपोर्ट होटलमा २० प्रतिशत सेयर हिस्सासहित प्रबन्ध निर्देशक पोखरेलले तीन तारे अर्को होटल निर्माण गर्ने भएका छन्।
कोरोना महामारीकै क्रममा भैरहवामा तीन तारे होटल संचालनमा ल्याएको उनको टीमले अब ल्याउन लागेको होटल रेजियो इन प्रालि हो। तीन तारे होटल रेजियो इनमा ६० रुम हुनेछ। होटलको प्रति रुम लागत भने एक करोड १० लाख अनुमान गरिएको छ।
यस होटलमा पोखरेलको ५० प्रतिशत सेयर स्वामित्व रहेको छ। हाल एक रोपनी तीन आना ६२६ वर्गमिटर जग्गामा निर्माण भइरहेको यो होटलको क्षेत्रफल भविष्यमा थप विस्तार गर्ने कम्पनीको योजना रहेको छ। भारतीय पर्यटकलाई बढी लक्षित गरेर निर्माण गरिने यस होटल भारतीय सहर गोरखपुरबाट जम्मा तीन घण्टाको दूरीमा रहेको छ।
त्यस्तै होटल निर्माणकै लागि कम्पनीले ५१ करोड रुपैयाँको रेटिङ गराएको छ भने ५० करोड रुपैयाँ दीर्घकालीन ऋण र एक करोड रुपैयाँ ओभरड्राफ्टका लागि इक्रा नेपालले क्रमशः एनपी एलबी प्लस र एनपी ए फोर रेटिङ दिएको छ।
मध्य जुलाईसम्म यस होटलको वित्तीय प्रगति तीन प्रतिशत रहेको र जग्गा खरिदलगायतका प्रक्रिया सुरु भइसकेको बताइएको छ। होटल निर्माणका लागि कुल लगानीको ७५ प्रतिशत ऋणमा निहीत छ। लुम्बिनीबाट करिब २५ किलोमिटरको दूरीमा बन्ने यो होटल सन् २०२४ को जुलाईबाट सञ्चालनमा ल्याउने योजना रहेको छ।