हेटौंडा। रोकिएको हेटौंडा सिमेन्टको उत्पादन पुन सुरु भएको छ। आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द रहेको हेटौंडा समिन्टको उत्पादन फेरि सुरु भएको हो।
कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको उद्योगले जनाएको छ । कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको छ। भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने बताइएको छ।
उत्पादन लागत भन्दा कममा घाटा खाएर सिमेन्ट बेच्नुपर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएको थियो।
उद्योगलाई नियमित र नाफामा सञ्चालन गर्न नयाँ प्रविधिमा जानुपर्ने र यसका लागि उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब रुपैयाँ र नयाँ प्लान्ट निर्माणका लागि ५ देखि ८ अर्ब रुपैयाँ रकम लाग्ने उद्योगले जनाएको छ । मर्मत खर्चका लागि उद्योगले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न सरकारसँँग अनुमति मागेको छ ।