हुम्ला। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिल्दुम साना जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेर मर्मत कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।
गत असोज १७ गते पहिरोले क्षति गरेको नहरको मर्मत कार्य चाँडो सम्पन्न गरेर तत्काल विद्युत सेवा आपूर्ति गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका हुन् ।
कर्णालीका मुगु र हुम्ला जिल्लाको विद्युतको अवस्थाबारे अनुगमन गर्न पुगेका घिसिङले मर्मत कार्य भइरहेको नहरको अनुगमन गरेका हुन्।
उनले सिमकोटबाट नहरस्थल रहेको हिल्दुम पुगेर पहिरोले नहरमा गरेको क्षतिको स्थलगत अनुगमन गरेका थिए।
कार्यकारी निर्देशक घिसिङले अब चाँडै हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा विद्युत सेवा सहज बनाउनेतर्फ प्राधिकरण लागिरहेको जानकारी दिए ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी सीता परियार लगायतको सहभागिता रहेको थियो । उनको टोली हेलिकोप्टरबाट हुम्ला आएको थियो ।