हुम्ला। हिल्दुम विद्युत् वितरण केन्द्रले विद्युत् आपूर्ति सुचारु गर्न हेलिकोप्टरबाट जेनेरेटर ढुवानी गरेको छ। केन्द्रले मुगुको गमगढीबाट दुई वटा जेनरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट ल्याइपुर्याएको हो ।
हिल्दुम साना जलविद्युत आयोजनाको नहरलाई पहिरोले क्षति पुर्याएपछि एक महिनादेखि विद्युत् सेवा बन्द छ। उक्त आयोजना सुचारु गर्न प्राधिकरणको सहयोगमा जेनरेटर ल्याउने कार्य भएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष पहलमा सिमकोटको विद्युत् सेवा सुचारु गर्न तत्कालका लागि जेनरेटर सञ्चालन गरेर विद्युत् सेवा सुचारु गर्न लागिएको हो ।
जेनरेटरका पार्टहरू नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट झुण्ड्याएर सिमकोट विमानस्थलमा ल्याएको हो । जेनरेटर सिमकोट पुुगेको र अब जोडेर विद्युत् उत्पादन गरेर आपूर्ति सुचारु गर्ने बताइएको छ। दुवै जेनरेटरको विद्युत् उत्पादन गर्ने क्षमता २२५ किलोवाट रहेको छ।
प्राधिकरणले विशेष गरी निर्वाचनका काममा बाधा नपरोस् भन्नका लागि जेनरेटरको व्यवस्था गरेको हो। केन्द्रले एउटा जेनरेटर पावर हाउसमा र एउटा सिमकोटमा राखेर विद्युत् उत्पादन गर्ने गरिने छ। नहरको मर्मत कार्य केन्द्रले गरिरहेको छ। बुधवार कार्यकारी निर्देशक घिसिङ अनुगमनका लागि हेलिकोप्टरमा सिमकोट गएका थिए।