काठमाडौं। पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको मुल्य बृद्धि भएको छ। दशैं, तिहार तथा छठजस्ता पर्वपछिको समय पूर्वाधार निर्माणको सिजन भएको भएता पनि यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्य वृद्धि भएको हो।
हाल फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताएका छन्। सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिएको भएता पनि यसको मूल्य बढेको उनले बताएका छन्।
फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा रहेको थियो। प्रतिस्थापन विधेयक आउनुभन्दा अगाडी स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो। तर रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको र हाल फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू. १०६ सम्म तिर्नु परेको निर्माण व्यवसायी महासंघका अध्यक्षले जानकारी गराएका छन्। फलामे छडसँगै सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने उनको भनाई रहेको छ। हाल सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको छ।
विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि सिमेन्टको मूल्य बढेको हो। त्यस्तै हाल केही उद्योगहरूले मात्र मूल्य बढाएको भए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने निर्माण व्यवसायी महासंघका अध्यक्षको भनाइ छ। विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइलाको संकट आउने हो कि भन्ने आशंका रहेको र यसले मूल्य वृद्धिभन्दा नि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्था आउने हो कि भन्ने डर रहेको उनले जनाएका छन्।
अहिले नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी रू.६ का दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी रू. १० का दरले मूल्य बढाएका छन्। अहिले यसअघि प्रतिकेजी रू. १५ खरिद गर्दै आएको कोइला हाल मुल्य बृद्धि भई प्रतिकेजी रू.३० सम्म पर्न थालेको छ। यसअघि रू. ८४ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले रू. ६ देखि रू. १० सम्म मूल्य बृद्धि भएको छ।