काठमाण्डौं। बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो ।
रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए। रमाइलोका लागि खेलिएको भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको स्थानीयको भनाइ छ।
खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। बत्ती जडानमा ७५ हजारभन्दा बढी खर्च भएको बताइएको छ।