काठमाडौं। निर्माण व्यवसायी र उपकरणमाथि निरन्तर आक्रमण भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायी र उपकरणको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
गत कात्तिक १४ गते ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको सृजनशील कन्स्ट्रक्शन प्रा.लि. को बा ३ क ४३०६ नम्बरको एस्काभेटरमा अज्ञात समूहले आगो लगाएकोमा पीडितले तुरुन्तै क्षतिपूर्ति पाउनुपर्ने महासंघले उल्लेख गरेको छ।
विगतमा समेत हुने गरेका यस किसिमका अराजक क्रियाकलापको कडा भत्सर्ना गर्दै पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्ति सहित दोषी उपर कडा कार्वाहीको माग गर्दै आएता पनि ठोस सुनुवाई नभएकाले नै निर्माण व्यवसायीहरू निरन्तर मारमा पर्दै आएको महासंघको भनाइ छ ।
निर्माण व्यवसायी र तिनका उपकरणको पूर्ण सुरक्षाका लागि महासंघले प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू लगायत सरोकारवाला सबैको लगातार गम्भीर ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ । महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न अपराधिक समूहलाई कडा भन्दा कडा कानूनी कार्वाहीका लागि नेपाल सरकारसँग माग गरेको छ ।
महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘शान्तिपूर्ण र सुरक्षित वातावरण विना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आबद्ध हजारांै व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ।’ विगतमा झै आफ्नो सहिष्णुतालाई कमजोरीको रुपमा लिएर देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित महासंघ देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।