काठमाडौं। एशियाली तथा पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन, ईफाप्काको ४५ औं सम्मेलनमा भाग लिन निर्माण व्यवसायीहरु माल्दिभ्स गएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको ६४ जनाको प्रतिनिधिमण्डल बिहिबार माल्दिभ्स्को राजधानी माले प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष रवि सिंहले गरेका छन्। प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरू, कार्य समिति सदस्यहरू र अन्य निर्माण व्यवसायीहरू रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघ प्रतिनिधिमण्डललाई महासंघका का.वा महासचिव नरहरि थपलिया, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ लगायतले बिदाई गरे । सम्मेलनको समाप्तीसँगै ईफाप्का अध्यक्षको कार्यभार नेपालले सम्हाल्ने र ४६ औं सम्मेलन पनि अर्को वर्ष काठमाडौंमा हुने भएकाले माले सम्मेलन नेपालका लागि महत्वपूर्ण भएको अध्यक्ष सिंहले बताए।
‘संरक्षण सहित निर्माण—अझ सुन्दर विश्व बनाऔं’ भन्ने नारा सहित ४५ औं ईफाप्का सम्मेलन पश्चात् नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ईफाप्का अध्यक्षको कार्यभार सम्हाल्ने छन् । त्यस्तै महासचिवको भूमिकामा महासंघका सल्लाहकार विरेन्द्र पाण्डे रहने छन् ।
४६ औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारा सहित काठमाडौंमा आयोजना हुँदैछ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपाल निर्माण व्यवसायी महासंघ सहित सहित १९ राष्ट्रका निर्माण संगठनहरू आबद्ध छन् ।