सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल भत्केको दुई साता बितिसक्दा पनि पुर्ननिर्माण कार्य अझै सूचारु हुन नसक्दा स्थानियलाई समस्या भएको छ। बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने सो पुल भत्किएपछि यातायात ठप्प मात्र नभएर पैदल आवतजावत पनि जोखिमपूर्ण भएको छ।
बेमौसमी रुपमा कात्तिक १ गतेदेखी तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले सो पुल र सडकको १५ मिटरजति भाग बगाएको थियो। भत्केको सडक र पुलबाट जोखिम मोलेर पारि जान खोज्दा पैदलयात्रु हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित १ जनाको कात्तिक ३ गते बाढीले बगाएर मृत्यु भएको थियो। तर पनि भत्किएको सडक र पुलको पुर्ननिर्माण कार्य सुरु हुन नसकेको स्थानियको गुनासो रहेको छ। हाल पानी सुकेपछि सडक विभागले कुनै चासो नदिँदा आवागमन ठप्पै रहेको र आफूहरु समस्यामा परेको स्थानियले गुनासो गरेका छन्। सडक र पुलको जिर्णोद्धार कार्य सुरु नहुँदा पैदल वारपार गर्न पनि समस्या भएको छ।
त्यस्तै ६/७ किलोमिटरको दुरीमा मात्र रहेको हनुमाननगर बजार पुग्न अहिले अर्को बैकल्पिक मार्ग राजविराज हुँदै हनुमाननगर २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाँध्यता रहेको बेल्हीवासीको भनाई रहेको छ। त्यहाँका स्थानियले भत्केको पुल र सडक चाडो निर्माण गरि आवागमन सूचारु र सहज बनाउन सरकारसँग माग गरेका छन्।