काठमाडौं। १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माण गरिरहेको जलविद्युत आयोजनाको सिभिल संरचनाको काम ९९ प्रतिशत र समग्रमा ९५ प्रतिशत निर्माण पूरा भएको हो।
उक्त आयोजनाबाट उत्पादित विद्युत आगामी माघभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको अन्तिम चरणको काम तिव्र गतिमा भइरहेको छ। आयोजनाको बाँकी सबै काम पूरा गरेर आगामि माघदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको हो ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ । लाइनमा २० वटा टावर खडा गरिएको छ ।
कम्पनीका अनुसार माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।