काठमाडौं। हुम्लामा ६१.२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजना हुम्लाको नाम्खा गाउँपालिका भएर बग्ने हुम्ला कर्णाली नदीमा पहिचान गरिएको हो।
विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारेर निर्माणको प्रक्रिया अघि बढाउन लागेको हो। यही बिहीबार नाम्खा–४ सामुदायिक भवनमा प्रतिवेदन माथि सार्वजनिक सुनुवाई गर्न लागिएको छ। इआईएको काम सकेपछि अरु तयारी सुरु गर्ने बताइएको छ।
प्रस्तावित आयोजनाको लागि बुमुछ्या खोला र हुम्ला कर्णाली नदीको संगमदेखि लगभग २.२ किमी माथि नाम्खा–५ मा नदी वारपार हुने गरि १० मिटर उचाई भएको बाँध निर्माण गरिनेछ।
त्यसपछि ६९४१.६५ मिटरको सुरुङमार्ग निर्माण गरेर ४९१.३६ मिटर लामो पेनस्टक पाइपको माध्यमबाट नाम्खा–४ को याँगर गाउँदेखि अन्दाजी ७०० मिटर माथि विद्युत गृहमा पानी लगेर बिजुली उत्पादन गरिनेछ। विद्युत उत्पादन गरेपछि २४.८४ मिटरको टेलरेस मार्फत हुम्ला कर्णाली नदीमा उक्त पानी पुनः फर्काइनेछ।
यो आयोजनाको हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड।सिमेट कन्सलटेन्ट प्रालि र प्रोफेसनल नेटवर्क प्रालि परामर्शदाता रहेका छन्।