फाइल तस्बिर
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाञ्चल विश्वविद्यालयको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्वविद्यालयको वार्षिक सभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन्।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/८० को लागि तयार गरिएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउँदै सोहीअनुसार अघि बढेमा विश्वविद्यालयको उन्नति सुनिश्चित हुने समेत बताए। विश्वविद्यालयले समयको मागअनुसार व्यावहारिक तथा सीपमूलक विषयको पढाइमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
विश्वविद्यालयले अनुसन्धानात्मक कामलाई प्राथमिकता दिनुपर्ने सो अवसरमा प्रधानमन्त्री देउवाले बताए। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रसाद कोइरालाले विश्वविद्यालयको अध्ययन, अध्यापन तथा अनुसन्धानसम्बन्धी कार्यलाई प्रविधिमैत्री बनाउँदै लगेको बताए। नयाँ विद्यार्थी भर्ना प्रक्रियाका साथै सेवा आयोगबाट आह्वान गरिने शिक्षक तथा कर्मचारीहरूको विज्ञापनलाई समेत प्रविधिमैत्री बनाउँदै लगिएको उनले सो अवसरमा जानकारी गराए।
तर स्थापनाको २९औँ वर्षमा पुग्दासमेत विश्वविद्यालयले हालसम्म शैक्षिक, प्राज्ञिकका साथै भौतिक विकासको क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सन्तोषजनक नरहेको पनि उनले बताए। विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेलले आव २०७९/८० का लागि पेस गरेको एक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँको बजेट सभाले पारित गरेको छ।