पर्वत। पोखरा महानगरपालिकाले हाईमास्ट सडक बत्ती जडानको काम शुरु गरेको छ। १३ करोडको लागतमा हाईमास्ट सडक बत्ती जडानको काम शुरु गरेको हो।
पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता भएपछि गत भदौ १० गते महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेकोमा हाईमास्ट बत्तीको जडानको काम शनिवारदेखि सुरू भएको हो। ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तरगत पोखराको जिरो किलोमिटर चोकमा ‘हाईमास्ट लाइट’ जडान गरेर परीक्षण पनि भएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरू भएको हो।
उज्यालो पोखरा अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना मार्फत टपसन इनर्जी प्रा.लि.ले प्राधिकरण र पोखरा महानगरपालिकाको लागत साझेदारीमा पोखराको ५० किलोमिटर सडकमा बत्ती जडानको काम हुने छ। १६ मिटर अग्ला पोलहरूमा ‘हाई मास्ट लाइट’ हरू जडान गरिने छन्। ती लाइटहरूको क्षमता २०० वाटसम्म हुनेछ।
अबको दुई महिनासम्म लगातार काम गरेर कुल २३ स्थानमा ‘हाईमास्ट’ बत्तीको जडान गरिने बताइएको छ। पोखराको लेकसाईड पर्यटकहरूको गन्तव्य रहेकालाई त्यो ठाउँलाई लक्षित गरेर काम भइरहेको छ। फेवातालको किनारमा रहेको ‘फुट ट्रेल’ बत्ती जडानको भइरहेको र त्यहाँपछि पोखरा अन्य मुख्य चोकहरूमा जडान गर्ने गरी आयोजनाको काम अगाडि बढाइएको छ।
यसअघि करोडौँ रुपैयाँ खर्च गरेर जडान गरिएका सडक बत्तीहरू नियमित मर्मतको अभावमा जीर्ण बन्दै गएकोले ती बत्तीहरूको समेत मर्मत गरी पोखराका अधिकांश स्थानहरूमा थप बत्तीहरूको जडान गरेर पोखरा सहरलाई उज्यालो सहर बनाउने अभियानमा महानगर रहेको छ।