काठमाडौं। लगभग ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने पाँच तारे होटलसहितको अपार्टमेन्टका लागि समिट होटलले आशयपत्र मागेको छ। पुरानो संरचना धमाधम भत्काएपछि समिटले होटलसहितको विलासी अपार्टमेन्ट निर्माणको प्रक्रिया थालेको हो। कम्पनीले सोमबार सूचना जारी गर्दै स्वदेशी वा विदेशी ठेकेदार कम्पनीसँग आशयपत्र मागेको हो।
द समिट होटल एण्ड रेसिडेन्सेस् नाम दिइएको यो परियोजनामा दुईदेखि तीन तलाको बेसमेन्टसहित सिभिल र स्ट्रक्चरसम्बन्धी काम गर्न इच्छुक कम्पनीसँग समिटले प्रस्ताव मागेको जनाएको छ।
बेसमेन्टबाहेक १७ तलाको भवन (जी+१७०) दुईवटा टावरमा निर्माण गरिने कम्पनीले जनाएको छ। १८ महिनामा यो काम सक्ने लक्ष्य राखिएको छ। समिट होटलको नयाँ संरचना ६ लाख ४५ हजार वर्गफीट हुने बताइएको छ।
२०२५ फेब्रुअरी भित्रमा परियोजनाको सबै निर्माण सक्ने लक्ष्य कम्पनीको छ। समिट होटलले इच्छुक निर्माण व्यवसायीहरुलाई कात्तिक १० भित्र कम्पनीको प्रोफाइल र आशयपत्र पेश गर्ने समयसीमा दिएको छ। समिटले मंसिर पाँचमा ठेक्का निकाल्ने आन्तरिक तयारी गरेको छ।
होटलमा करिब १३० कोठा रहने छ भने एक सय ६० युनिट अपार्टमेन्ट बन्ने छ। कम्पनीका अनुसार एक सय ४५ युनिट अपार्टमेन्ट समिटले बिक्री गर्ने भएपनि ४५ वटा युनिट सर्भिस अपार्टमेन्टका रुपमा प्रयोग गर्ने छ।