काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले
नेपालको अर्थतन्त्रको अवस्था अहिले सबैले सोचजस्तो नराम्रो नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाका भारतबाहेकका अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र राम्रो भएको बताएका हुन्।
विश्व अर्थतन्त्र र विकसित अर्थव्यवस्था भएका मुलुकहरू पनि अहिले ‘स्ट्रेस’मा भएको बताए । उनले भने, ‘नेपालको अवस्था त्यति नराम्रो छैन। दक्षिण एसियाका भारतबाहेकका अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र स्टेवल नै छ, यद्यपी केही अपठ्यारा नभएका भने होइनन् ।’ बाह्य कारणले १ वर्षकै अवधिमा मुलुकले २ दशमलव ३४ अर्बको विदेशी मुद्रा गुमाउनु ५५ वर्षको इतिहासमा पहिलोपटक भएको पनि उनले बताए ।
अहिले निजी क्षेत्रबाट चालु चुक्ता पूँजी मार्गदर्शनमा विरोध भए पनि नेपाल राष्ट्र बैंकले यसमा पर्याप्त छलफल र सुझाव मागेर नीति ल्याएको स्पष्ट उनले पारे । ‘२०७८ पुस १५ गते मार्गदर्शन सुझाव तथा रायका लागि सार्वजनिक गरिएको थियो,’ अधिकारीले भने, ‘बैंकहरूबाट लिएको ऋण सही स्थानमै उपयोग होस् भन्ने मात्रै उद्देश्य हो, सही उद्देश्यको उपकरण गलत हुनु भएन ।’
केन्द्रिय बैंक समस्या समाधानका उपाय खोज्ने छलफलका लागि सधै तयार रहेको भन्दै उनले ब्याजदर तोक्ने अधिकार बजारलाई छोड्ने हो ? भनेर प्रश्नसमेत गरे । देशको अर्थतन्त्रमा सुधार जरूरी रहेको पनि उनको भनाइ छ । यस्तै, आयात सधैलाई नरोकिने भन्दै आयातले राजस्वमा हानी पुर्याए पनि कतिपय अवस्थामा सकरात्मक प्रभाव पारेको उल्लेख गरे ।