खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयको दुई करोड दुई लाख रुपैयाँ लगानीमा उक्त भवन निर्माण गरिएको हो।
प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलवार उक्त भवनको उद्घाटन गरेका छन्। २०७६ असार १७ गते गोरखा–रुजन जेभी काठमाडौंले सम्झौता गरेर तोकिएकै समयमा दुई तले भवन निर्माण सम्पन्न गरेको हो। उक्त नयाँ प्रहरी चौकी भवनमा महिला-पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ।
प्रहरी नायब महानिरीक्षक बिसीले भवन उद्घाटन गर्दै जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहनाबमोजिमको सेवा प्रदान गर्न मातहतका प्रहरीलाई निर्देशन दिए। सहरी विकास तथा भवन डिभिजन कार्यालयको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी भवन निर्माण थालिएको हो।
भवन उद्घाटन कार्यक्रममा सहभागी बुइपाका स्थानीय बासिन्दाले प्रहरी चौकी बुइपामा दरबन्दीअनुसारको प्रहरी र सवारी साधन उपलब्ध गराउन प्रहरी नायब महानिरीक्षक बिसीलाई अनुरोध गरेका थिए।