काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आइतबार सिंहदरवारमा अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो।
भेटमा महासंघले मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि अर्थमन्त्री समक्ष आग्रह गरेको छ । अर्थतन्त्रमा वहुुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ महासंघले ध्यानाकर्षण गरायो । महासंघ यतिखेर अर्थतन्त्र जोगाऔं अभियानमा छ ।
अर्थमन्त्रीसंगको भेटवार्ताको क्रममा महासंघका अध्यक्षले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको बताए । मुल्यवृद्धि ७ वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको उल्लेख गरे ।
प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न शुरु भएको करिब १ बर्षको अवधिमा वहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रिय बैंकले अर्थतन्त्र जोगाउन केही सुुझाव समेत अर्थमन्त्री समक्ष पेश गरेको छ ।
अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मक रुपमा लिएको बताए । अर्थमन्त्रीले सरकार पनि यसमा गम्भीर रहेकाले महासंघले दिएको सुुझाव अनुसार नै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अगाडि बढ्न मन्त्रालयको सहयोग रहने विश्वास दिलाए ।