काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन्। खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने जानकारी गराएका हुन्।
नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको उनले जानकारी गराएका छन्। त्यस्तै अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै गरेको कुरा पनि उनले जनाएका छन्। उनले व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता जनाएका छन्। त्यस्तै अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनकोको भनाइ रहेको थियो।