काठमाडौं। विराटनगर महानगरपालिकाले बजार क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाडामा लगाएको घरको संरचना भत्काएर अभियानको सुरुवात गरिएको हो।
विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरू गरिएको बताइएको छ।
नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक लगायतका अवैध संरचना हटाएको छ।
नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको छ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरू गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए।
उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे।