काठमाडौं। सोलुखुम्बु, रामेछाप र ओखलढुङगा सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। ग्रिन भेन्चरले निर्माण गरेको यस आयोजनाबाट गत शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो।
आयोजना निर्माण सुरु गरेको ३९ महिनामा निर्माण सम्पन्न गरी आयोजनाबाट विद्युत उत्पादन सुरु गरेको कम्पनीको अध्यक्षले जनाएका छन्। त्यस्तै उनले २ साता सम्म परीक्षण उत्पादन गर्ने र परीक्षणको चरण पुरा भएपश्चात व्यापारीक उत्पादन सुरु गर्ने जानकारी गराएका छन्। यस आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि २२० केभी न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ।
यस सबस्टेसनसम्मको प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको हो। सो आयोजनाको निर्माण सम्पन्न भई आन्तरीक परिक्षण गर्ने बेलामा गत जेठमा एउटा डिसेन्डर बेसिन भत्किएको थियो। ५ महिनामा भत्किएको संरचनाको पुननिर्माण गरी विद्युत उत्पादन सुरु गरिएको हो। यस आयोजना निर्माण सम्पन्न गर्नको लागि ९ अर्ब ४५ करोड रुपैँया लागत अनुमान गरीएको थियो। सुरुमा यस आयोजनालाई १२० मेगावाट गर्ने गरी डिजाइन गरिएकोमा पछि १२० मेगावाट निर्माण गर्न संभव नदेखिएपछि क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण गरिएको आयोजनाले जानकारी गराएको छ।