रुपन्देही । निर्माण व्यवसायी परिवर्तन गरेपछि लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेश सभा भवन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । गत साउन मसान्तससम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवन निर्माणको कामले गति नलिएपछि व्यवसायी परिवर्तन गरिएको हो ।
सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रदेश राजधानीका लागि अस्थायी संरचना निर्माण शुरु गरेको छ । मसुरियाको राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाका लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माण गर्न थालेको हो ।
साउन मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत वैशाख अन्तिम साता सम्झौता गरिएपनि अहिलेसम्म भवनको १५ प्रतिशत पनि काम नभएपछि मुख्यमन्त्री कुलप्रसाद केसीको ठाडो निर्देशनमा व्यवसायी नै परिवर्तन गरेर काम अघि बढाइएको छ ।
भवन निर्माणका लागि ड्रागन बस्नेत जेभीले कार्य सम्झौता गरेको थियो । अहिले काम नभएपछि त्यही सम्झौता अनुसार नै अर्का निर्माण व्यवसायी यज्ञ केसीले काम शुरु गरेका छन् । उनले अबको ४५ दिनमा भवन तयार गरेर हस्तान्तरण गर्ने गरी जिम्मेवारी लिएको बताए । भवन निर्माणस्थलमा सामग्री ल्याउनेदेखि दुईवटा जेनेरेटर जडान गरेर राती र दिउँसो काम गरिरहेको उनले जानकारी दिए ।