काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका कर्मचारीले गरिरहेको आन्दोलन फिर्ता लिएका छन् । आजदेखि विद्युत उत्पादन नै बन्द गर्ने चेतावनी दिएका कर्मचारीले आन्दोलनका कार्यक्रम नै फिर्ता लिएका हुन् ।
अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। कत्तिक १३ गतेदेखि आन्दोलन थालेका कर्मचारीले आजदेखि विद्युत उत्पादन नगर्ने चेतावनी समेत दिएका थिए । विद्युत उत्पादनमा नै अवरोध हुने गरी आन्दोलन गरिरहेका कर्मचारीले आन्दोलन फिर्ता लिएको आयोजनाका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भएको बताए । लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो यस आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।
तर स्वतन्त्र कर्मचारी यूनियन नेपालले भने केही समयका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ। शान्तिपूर्ण आन्दोलन भने कायमै रहेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुले माग पूरा नभए आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख गरेका छन् ।