ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण गरेको छ। फुङ्लिङ नगरपालिका स्थापना भएको करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण गरेको हो।
फुङ्लिङ नगरपालिका –७ दोखुको गैरीगाउँमा निर्माण भएको प्रशासकीय भवनको सोमबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गरेका छन्। प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रदेशमन्त्री हाङ्गामले ढिलै भए पनि फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणपछि सेवाग्राहीले सेवा पाउने विश्वास व्यक्त गरे।
फुङ्लिङ नगरपालिका मात्र नभई जिल्लाका नौ वटै स्थानीय तह र ६१ वटै वडाको आफ्नै कार्यालय भवन हुनु पर्नेमा जोड उनले दिए। आफ्नै प्रशासकीय भवन बनेकाले अब सुशासन र सहज रूपमा सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ।
प्रशासकीय भवन पाँच रोपनी क्षेत्रफल बराबरको जग्गामा निर्माण गरिएको फुङ्लिङ नगरपालिकाले बताएको छ। प्रशासकीय भवन निर्माण प्रक्रिया २०७२ तिर नै सुरु भएको भए पनि यस वर्ष मात्र निर्माण सम्पन्न भएको हो। २८ वटा कोठा भएको चार तले प्रशासकीय भवन कुल सात करोड ९६ लाख रुपियाँमा निर्माण भएको हो।
अब दुई दिनभित्र कोठा तथा फर्निचर व्यवस्थापनको काम सक्ने र त्यसपछि नयाँ प्रशासकीय भवनबाट नै नगरपालिकाको सबै काम सम्पादन सुरु गर्ने नगरपालिकाले जनाएको छ।