चितवन । चितवनको भरतपुर क्षेत्रको सबस्टेसनमा समस्या देखिएपछि भरतपुर पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ त्यहाँका कर्मचारीप्रति असन्तुष्ट भएका छन् ।
विद्युत आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह भरतपुर बसेनी सबस्टेसन पुगेका कुलमान ४–५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि असन्तुष्ट भएका हुन् ।
उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो ।
तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबै खालको प्रयास गर्न निर्देशन दिएका थिए । तर उनी भरतपुर पुग्दा आफूले सोचे जसरी काम भएको नदेखेपछि कर्मचारीप्रति आक्रोसित बनेका छन् ।
उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे । कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले कर्मचारीसँग झोक्किँदै ’तपाइँहरु यहाँ जात्रा हेर्न आउनु भएको ?’ भन्ने प्रश्न गरे ।
कुलमानले जति कर्मचारी चाहिने हो, जति खर्च लाग्ने हो सबै लगाएर गर्न निर्देशन दिँदै काम गर्नेलाई खसि नै काटेर खुवाए पनि खुवाउनु भन्दै काम भने छिटो सक्न निर्देशन दिएका छन् । उनले तिहारको समयमा कसैको घर अँध्यारो हुन नहुने धारणा व्यक्त गरेका छन् ।