काठमाडौं । नेपालले भारतलाई विद्युत बिक्रि गर्न थालेको छ । भारतले आफूले अनुदान दिएका नेपालका विद्युत आयोजनाबाट विद्युत खरिद गर्न शुरु गरेको हो ।
ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट मंगलबार रातिदेखि नेपालले भारतमा बिजुली पठाउन थालेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
भारतले सोमबार नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो। नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली किन्न भारतको ऊर्जा मन्त्रालयले अनुमति दिएको छ ।
भारतले यसअघि गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा कार्यविधि बनाएको थियो। उक्त कार्यविधिमा भारतसँग सीमा जोडिएका तर उर्जामा सहकार्य गर्ने सम्झौता नभएका मुलुकबाट लगानी भएका आयोजनाको बिजुली नकिन्ने उल्लेख छ। यसको अर्थ नेपालमा चिनियाँ कम्पनीले लगानी गरेर बनाएका आयोजनाको बिजुली भारतले नकिन्ने देखिएको छ।
नेपालीले लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत भारतमा बेच्न भने कुनै सर्त रहेको देखिएको छैन ।