काठमाडौं। लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन् ।’
प्रदेशसभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउन बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलाई भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए । त्यो काम पनि केही दिनमै सकिने उनको भनाई छ । प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले भालुवाङ स्थित नयाँ भवनमा सपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेको उनले बताए।
विद्युत जोड्ने काम पनि भएको छ । रंग, रोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ । प्रदेशसभा भवन एक अर्व २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।