झापा। भद्रपुर नगरपालिका–३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बिओपी को भवन उद्धघाटन गरिएको छ। बिओपी स्थापनाको लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरुबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कायृक्रमबीच हस्तान्तरण तथा उद्धघाटन गरिएको छ। मेचीपारी गाउँवासीको शान्ती सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्ने उद्देश्यले बिओपी भवन निर्माण गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डिआइजी कमल गिरी र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा बिओपी भवनको उद्घाटन गरेका हुन्। बिओपीमा स्थानीय दाताहरूबाट संकलित ६ लाख ८० हजार ६७५ रुपैयाँमा एउटा जवान ब्यारेक, एउटा भान्सा, दुई वटा शौचालय, एउटा गोलघर र गेट निर्माण गरिएको छ। उद्घाटन कार्यक्रममा डिआइजीले सीमा क्षेत्रमा हुने कुनै पनि अपराधका क्रियाकलापलाई नियन्त्रण गर्नका निम्ति व्यावसायिक र इमानदारीका साथ खटिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।
यस्तै स्थानीयले ३ लाख ५६ हजार ३२१ रुपैयाँ बराबरको निःशुल्क जिन्सी सामग्री समेत बिओपीलाई उपलब्ध गराएको भवन निर्माण समितिका अध्यक्षले जानकारी दिएका छन्। भवन निर्माणका लागि स्थानीय जग्गादाता मायाराम महतोले चार कट्ठा र कपिलेश्वर महतोले एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएको उनले जानकारी दिएका छन्। सोही कार्यक्रममा जग्गादाता र आर्थिक रकम सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो।