काठमाडौं। नेपाल ट्रष्टको कार्यालयले कमलादीमा आफ्नो कार्यालयसँगै जोडिएको जग्गा दीर्घकालिन लिजमा लगाउने भएको छ। २ रोपनी ४ आना २ पैसा क्षेत्रफल रहेको जमीन ट्रष्टले ३० वर्षका लागि लिजमा दिन बुधबार तेस्रोपटक सूचना निकालेको छ।
व्यवसायिक भवन निर्माण गरेर भोगचलन गर्ने गरी भाडामा दिन लागिएको ट्रष्ट कार्यालयका प्रवक्ता तुलसीनाथ गौतमले बताए। उनका अनुसार तीन वर्ष निर्माण अवधिसहित ३० वर्षका लागि व्यवसायिक कम्प्लेक्सको रूपमा प्रयोग गर्ने गरी जमीन लिजमा दिने तयारी भएको हो।
ट्रष्टले सूचना प्रकाशित गर्दै इच्छुक फर्म वा कम्पनीलाई ३० दिनभित्र रितपूर्वक आवेदन दिन आग्रह गरिएको छ। उल्लेखित जग्गामा बन्ने भवनको अवधारणा डिजाइन, नक्सा र प्रारम्भिक लागत अनुमानसहितको प्रस्ताव पेश गर्नु पर्नेछ। मापदण्ड तथा राष्ट्रिय भवनसंहिता अनुकूल सुरक्षित र उचित प्रबन्धसहितको आधुनिक सुविधासम्पन्न भवन निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ।
सम्झौता भएको मितिदेखि निर्माण अवधि ३ वर्षसहित ३० वर्ष लिज अवधि कायम हुनेछ। उक्त अवधि सकिएपछि भवनलगायत सबै संरचना स्वत ट्रष्ट कार्यालयको स्वामित्वमा सर्नेछ। लिजमा दिइने जग्गा, त्यसमा जडान हुने भौतिक सामाग्री, स्थायी सेवा सुविधा र निर्मित भवन तथा संरचनाहरुको प्रचलित कानुन बमोजिम लाग्ने कर महसुल आदि लिज प्राप्तकर्ताले लिज अवधिभर तिर्नुपर्ने छ। ३१ करोड ७५ लाख २६ हजार ४ सय ३५ रुपैयाँ ३३ पैसा ३० वर्षको भाडा तिर्नुपर्ने न्यूनतम मूल्य तोकिएको छ।
साँघुरो सडक र जग्गा समेत २ रोपनी ४ आना मात्रै भएका कारण कम्पनी वा फर्महरुले प्रस्ताव नहालेको बुझिएको छ। त्यस्तै पुरानो खानेपानीको अफिस भत्काएर त्यहा संरचना निर्माण गर्नुपर्नेछ।संरचना भत्काउन र निस्केको सामाग्री व्यवस्थापन समेत इच्छुक कम्पनीले गर्नुपर्ने प्रावधान राखेको छ।