चितवन । १३२/११ बसेनी ग्रीड सबस्टेसनको पावर ट्रान्सफर्मरहरूमा समस्या देखिएर भरतपुर महानगरपालिकामा बन्द भएको विद्युत आपूर्ति पुन: सुचारु भएको छ । मंगलबार दिउँसोबाट भरतपुर महानगरपालिकामा बन्द भएको विद्युत आपूर्ति सबस्टेसनको मर्मत पूरा भएपछि सुचारु गरिएको हो ।
सबस्टेसनमा समस्या देखिएपछि महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा तथा तनहुँको देवघाट क्षेत्रमा समेत विद्युत् आपूर्ति रोकिएको थियो । तिहारको मुखमा विद्युत् आपूर्तिमा अवरोध आएपछि प्राधिकरणले प्राथमिकताका साथ मर्मतको काम सम्पन्न गरेको छ ।
बिग्रिएको ट्रान्सफर्मर हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान गर्न प्राधिकरणलाई लामै समय लाग्यो । शनिबार बिहानैदेखि सबस्टेसनमा रहेको २ वटामध्ये एउटा ट्रान्सफर्मरमा समस्या देखिएको थियो ।
अर्कोमा पनि मंगलबारदेखि समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणका अनुसार सो क्षेत्रमा बत्ती जाँदा करीब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएका थिए । ३६ घण्टापछि सो क्षेत्रमा बिजुली बलेको प्राधिकरणले जनाएको छ ।