काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार अवधिभर देशभरी कतै बत्ति नजाने बताएको छ । प्राधिकरणले तिहारको समयमा ग्राहकको चाहनाअनुसार नै विद्युत आपूर्तिमा अवरोध नहुने जनाएको हो ।
प्राधिकरणका सिस्टम अपरेसनका निर्देशक एवं प्रवक्ता सुरेशबहादुर भट्टराईले विभिन्न किसिमका मर्मत तथा अपग्रेडका कामहरू गरिसकेकाले अहिले विना अवरोध विद्युत् आपूर्ति हुने जानकारी दिएका छन् ।
उनका अनुसार तिहारको समयमा कतै पनि विद्युत आपूर्ति नरोक्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई सूचना पठाइसकेको छ।केही दिन अघिसम्म तिहारलक्षित मर्मतका काम गरेको भएपनि अहिले मर्मत सम्भारका काम रोकेको उनले बताए ।
प्राधिकरणले तिहारमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन सबै नोडाल कार्यालयहरूमा निर्देशन दिइसकेको छ । यति हुँदाहुँदै पनि कुनै समय विद्युत् रोकिएमा तत्कालै नजिकैको विद्युत वितरण केन्द्रमा फोन गरेर समस्या टिपाउन प्राधिकरणले आग्रह गरेको छ ।
सकेसम्म विद्युत नजाने व्यवस्था गरिएको र केही समस्या वा कुनै पनि कारणले बत्ति गएमा तुरुन्तै फोन गरेर जानकारी गराए मर्मतका लागि कर्मचारी तयारी अवस्थामा राखिएको समेत बताइएको छ ।