काठमाडौं । व्यावसायिक उडान बन्द गरिने कुरालाई हेलिकोप्टर कम्पनीले अवज्ञा गरेपछि कास्कीस्थित अन्नपूर्ण आधार शिविरका स्थानीय र व्यवसायी आन्दोलित बनेका छन् ।
उडान बन्द गरेपनि कम्पनीले सो निर्णयलाई अवज्ञा गरेपछि अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने पदमार्गको छोम्रोङ, दोभान, हिमालयलगायत क्षेत्रका युवाको समूहले बुधबार अन्नपूर्ण आधार शिविरस्थित हेलिप्याडमा झण्डा गाडेर आन्दोलन शुरु गरेका हुन् ।
यो सांकेतिक आन्दोलन भएको बताउँदै सेन्चुरी युवा क्लब छोम्रोङका अध्यक्ष मिकास गुरुङले यसलाई पनि नटेरी मनोमानी गरेमा थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । उनीहरुले यस हेलिप्याडमा भीआइपी, अपाङ्गता भएका व्यक्ति आएमा र रेस्क्यु गर्ने हेलिकोप्टर बाहेक अन्य हेलिकोप्टरलाई अवतरण गर्न नदिने बताएका छन् ।
हेलिकोप्टर उडानले संरक्षित क्षेत्रका वन्यजन्तु र चराचुरुङ्गीमा असर परेको भन्दै साउन २०७५ मा अन्नपूर्ण गाउँपालिकाको गाउँसभाले व्यवसायिक उडान रोक्ने निर्णय गरेको थियो । यो जानकारी जिल्ला प्रशासन कार्यालय कास्की र नागरिक उड्डयन प्राधिकरण पोखरालाई उतिबेलै गराइएको थियो । केही हेलिकोप्टरले अटेर गरेर उडान बन्द नगरेपछि स्थानीय तथा व्यवसायी आन्दोलित बनेका हुन् ।