काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।
चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।
संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए ।
संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।
राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ठ्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता भट्टले जानकारी दिए । मुख्यगरी चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उनको भनाइ छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डितले संशोधित मार्गदर्शनले मुख्यगरी पुरानो कर्जालाई पुनःकर्जा र पुनःतालिकीकरण नगर्ने तथा आवधिक कर्जा मानेर भुक्तानी गर्न सकिने गरी नयाँ प्रावधान ल्याइएको बताए ।