हुम्ला। दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो।
तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले ताकेता गरेको छ । गाउँपालिका अध्यक्ष लालकेश जैसीले दश शैय्याको अस्पताल भवनको निर्माण कार्यले अहिले आएर गति लिएको बताए। उनले दुई वर्ष अगाडी शिलान्यास भएको भए पनि निर्माण कार्य अगाडी बढ्न नसकेको बेला गाउँपालिकाको ताकेता पछि निर्माण कम्पनी पक्षले यति बेला निर्माण कार्यलाई तीव्रता दिएको बताए। उनले दैनिक निर्माण कम्पनीलाई काम चाँडो गर्न सम्झाउने गरेको र पटक पटक भवन निर्माण स्थलमा आफै अनुगमनमा पुग्ने गरेपछि काम अगाडी बढी रहेको बताए।
अघिल्लो वर्ष निर्माण कम्पनीसँग आठ करोड बजेट लागत लाग्ने गरी सम्झौता भएको र त्यसका कार्य प्रगति प्रतिवेदनका आधारमा मन्त्रालयबाट निकासा आउने गर्छ । उनले यस हिसाबले पनि निर्माण कार्य तीव्र पारेर बजेट निकासा चाँडो ल्याउनु पर्ने बाध्यता रहेको बताए । आरसिसी भवनको यति बेला डिपिसी र पिलर निर्माण कार्य सम्पन्न भएको छ । अब गाह्रो लगाउने कार्य सुुरु भएको छ । उनले आफ्नो लक्ष आगामी असारसम्म भवनको निर्माण कार्य सम्पन्न गरेर अस्पताल नै सञ्चालनमा ल्याउने रहेको र त्यसै अनुसार अगाडी बढी रहेको बताउँदै अस्पताल भवन निर्माण कार्य सम्पन्न भएपछि जिल्ल अस्पताल पछिको दोस्रो अस्पताल ताँजाकोटमा सञ्चालन हुने बताए। गोरखापत्रबाट