बलेवा। बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा प्रहरी चौकी अझै अस्थायी छाप्रोमा सञ्चालनमा रहेको छ। सो चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने स्थान पनि छैन।
प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार जिल्ला प्रवेश गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीको जाँचचौकीसमेत गर्दा यहाँ १५ जनाको दरबन्दी रहेको छ। अन्यत्रको चौकीझैँ रात परेपछि सुतिहाल्न पनि मिल्दैन साथै राजमार्ग भएकाले सवारी जाँच गर्नुपर्छ त्यसैले मालढुङ्गामा चौबीसै घण्टा पहरा चाहिन्छ। आफ्नो भवनको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन्। प्रहरीले पनि चौकी भनेर बताउनै अप्ठेरो मान्नुपर्ने स्थिति रहेको छ। त्यहाँको शौचालयसमेत साँघुरोे रहेको छ।
हावाहुरी आउँदा चौकीको जस्तापाता पटक–पटक उडाएर लैजान्छ, वर्षात्मा पानी चुहिन्छ। होचो भएकाले घाम लाग्दा बसिनसक्नु गर्मीले सताएकोसमेत उनीहरुले गुनासो गरेका छन्। १५ जनाको दरबन्दी रहेको उक्त चौकीमा त्यही बस्ने गरी दुई जना ट्राफिक दरबन्दी पनि छ। तर तीन कोठामै खाना पकाएर खाने मेस, कार्यालय, सबैजना सुत्नेबस्ने गर्नुपर्ने बाँध्यता रहेकोछ। त्यस्तै खुला स्थानमा नैनुहाउनुपर्ने बाँध्यता रहेको छ।
प्रहरीले रेकर्ड रजिस्ट्रर र बरामद भएका काजगात जोगाउनसमेत हम्मेहम्मे परेको गुनासो गरेका छन्। चुहिने कोठा, हावाले उडाउने र धुलाम्मे हुने छाप्रोमा सामान सुरक्षित राख्नसमेत कठिन भएको प्रहरी सहायक निरीक्षक विनय रेग्मीले गुनासो गरेका छन्। उनिहरुले समस्या भएको कुरा जाहेर गरेका र दुःखले बस्न बाँध्य भएको उनले बताएका छन्। चौकीबाट सडकको काममात्रै हेर्ने नभएर भकुण्डे र बलेवा क्षेत्रका केही स्थानमा हुने घटनाको समेत उनीहरुले अनुसन्धान गर्नेलगायतको काम गर्नुपर्छ। सडक दुर्घटना भएमा पहिलो सूचना ल्याउने र जिल्ला प्रहरीमा जाहेर गर्ने काम पनि उनीहरुकै हो। ती सबै काम गर्न र डाटा राख्नका लागि कम्युटरसहितको व्यवस्था हुनुपर्नेमा कागजमा लेखेरै राख्नुपरेको उनले बताएका छन्।
जिल्ला प्रहरी प्रमुखले यस विषय दुःखदायी र गम्भीर भएको बताएका छन्। पहिचान झल्काउन भएपनि चौकी बन्नुपर्छ। तर सरकारी मान्यताअनुसारको जग्गा नपाएर चौकी बनाउन नपाइएको हो। सरकारी मापदण्डमा तीन रोपनी जमिन खोजेपछि मात्रै गृह मन्त्रालयले चौकी निर्माणका लागि बजेट दिने गर्छ । जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको उनले बताएका छन्। झण्डै २५ वर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा दिन थालेको थियो। प्रहरीको अस्थायी बिटका रूपमा त्यहाँ बस्न थालेको डेढ दशक बितिसक्यो। तर पनि प्रहरी बस्ने पक्कि घर अहिलेसम्म पनि बनेको छैन्।