खोटाङ। खोटाङ जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन सबै स्थानीय तहलाई निर्देशन दिइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले जिल्लाभित्रका सबै स्थानीय तहलाई विवरण बुझाउन आग्रह गरेको हो ।
गृह मन्त्रालयबाट गत पुस २२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ।
स्थानीय तहलाई लेखिएको पत्रमा व्यावसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन भइरहेका छन् भन्ने यथार्थ विवरण ७ दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ । समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णय गरेको समितिले जनाएको छ ।
क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरे नगरेको खुलाउन निर्देशन दिइएको छ।