लखन्देही खोलाबाट उत्खनन् गरिरहेको जेसिबी । तस्बिर : गाेरखापत्रअनलाइन
सर्लाही। जिल्लाको लालबन्दी नगरपालिकाबाट प्रहरीले २ वटा डोजर र ९ वटा टिपर नियन्त्रणमा लिएको छ। लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देखी खोलाबाट अवैद्य रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लखन्देखी पुलदेखि झण्डै एक किलोमिटर उत्तरमा मापदण्ड विपरीत अवैध उत्खनन् गरिरहेको अवस्थामा ती साधनहरु प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका साधनहरु ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा स्काभेटर हुन् । ठेक्का लागे पनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन् भइरहेको पाइएको प्रहरीले छ ।
उत्खननमा ठूलो गिरोह नै सक्रिय रहेकाले अवरोध हुन सक्ने ठानेर नियन्त्रणमा लिनका लागि लालबन्दी र हरिवनबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीले जेसिबी र टिपरलाई चालकसहित नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।