काठमाडौं। काठमाडौ उपत्यका निर्माण व्यवसायी संघले पछिल्लो समय निर्माण सामाग्री उत्पादित उद्योगहरुले अत्याधिकरुपमा मूल्य बृद्धि गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभन्न शक्ति केन्द्रहरुको आडमा निश्चित समूहले मात्र निर्माण सामग्रीहरु फलाम जन्य डण्डी, पाता, पत्ति, जी आई तार, ग्याविन तार र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा, गिट्टी तथा तरल पदार्थ र खनिज पदार्थ लगायत संचालन गर्ने गरेका छन्। तीनै शक्ति केन्द्रका कारण उद्योगहरुबाट उत्पादिक निर्माण सामग्रीहरुमा कृत्रिम अभाव देखाउँदै कालाबजारीबाट उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यत्म अवस्थाबाट निर्माण व्यवसायी तथा आम उपभोक्ताहरु मारमा परेका छन्।
गृहमन्त्रालयले २०७९/९/२० गते एक सूचना मार्फत दिएको निर्देशनबाट निर्माण कार्यको मूख्य सिजनमा विना पूर्व सूचना निर्माण सामग्री उत्पाधित उद्योग तथा क्रसर उद्योगहरुबाट उत्पादित निर्माण सामग्रीहरु उत्खनन उत्पादन र ओसारपसारमा नियमन गरिदिएको देखाउँदै निर्माण सामग्री उत्पाधित गद्योगहरुले निर्माण कार्यका लागि खानी तथा नदी जन्य सामग्रीहरु उत्पादन उत्खना र संकलनको अभाव भएको भन्दै मूल्य वृद्धि गरेका छन् । यसबाट निर्माण बिकासका कार्यहरु ठप्प हुन पुगेका छन् ।
स्थानीय निकायले निर्माण कार्यका लागि खानी तथा नदी जन्य सामग्रीहरुको विना मापदण्ड अनुचित रूपले फरक फरक निर्धारण गर्ने गरेको छ । यस्ता महत्वपूर्ण कार्यहरुमा संघीय सरकारद्वारा नै निर्धारण गरिदिई गुणस्तरीय मापन समेत राज्यबाटै तोक्न र उचित मूल्य निर्धारण गर्न काठमाडौं उपत्यका निर्माण व्यवसायी संघ जोडदार माग गर्दछ। प्रत्येक वर्ष बजार अनुगमन विना नैं केही व्यक्तिहरुको स्वार्थका कारण हुने यस्ता खाले मूल्य बृद्धिका कारण निर्माण व्यवसायीहरु आफनो पेशाबाट विमुख हुनुपर्ने बाध्यता आएको र सरकारले सुरु गरेको निर्माण विकासको आयोजनाहरुलाई समेत बाधापार्ने अवस्था सृजना गरेको हुँदा यस प्रति गम्भीर भई प्रभावकारीरुपमा बजार अनुगमन गरी मुल्य बृद्धि नियन्त्रणमा सार्थक पहलका लागि सरकार सँग माग पनि गरेका छन् ।