चितवन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरमा ध्यान दिन आग्रह गरेका हुन्।
चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण गर्न तथा विभिन्न कार्यक्रममा सहभागी हुन अएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका हुन्।
मन्त्री श्रेष्ठले चितवनमा सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए। चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले चितवनबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उनले निर्देशन दिए।
उनले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई तीव्र बनाउने बताए। उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।